Monday, January 7, 2013

चिया बगानमा रातभर सामूहिक बलात्कार


सुब्रत न्यौपाने
झापा १९ पुस
  प्रेमीसँग ‘डेटिङ’ मा हिँडेकी एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । झापाको दमकस्थित हिमालय गुडरिक (चिया बगान) मा बुधवार साँझ चार जना युवाले बजगाईँ थरकी युवतीलाई सामूहिक बलात्कार गरेका हुन् ।
  तेह्थुम ओयाजुङ स्थायी घर भएकी १९ वर्षीया ती युवती अध्ययनका लागि झापाको दमकमा बस्दै आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । स्नातक तह दोस्रो वर्षकी विद्यार्थी रहेकी ती युवती प्रेमीलाई भेट्न साँझपख स्थानीय धरधरे खोला नजिकको कल्भर्टमा पुगेकी थिइन् । चिया बगान नजिकैको सडकमा गफिरहेका बेला आएका चार युवाले युवतीका प्रेमी बीरबल खड्कालाई निर्घात पिटेका थिए ।
 ‘त मात्र रमाइलो गर्ने’ भन्दै ती युवाले मरणासन्न हुने गरी खड्कालाई कुटेको झापाका प्रहरी प्रमुख एसपी शेरबहादुर बस्नेतले बताए । ‘प्रतिकार गरेपछि युवा समूहले खड्कालाई कुटेर युवतीलाई बगानभित्र लगेर पालैपालो बलात्कार गरेको अनुसन्धानमा खुलेको छ’, एसपी बस्नेतले भने, ‘खड्काको उजुरीका आधारमा बलात्कारका घटनामा संलग्न तीन युवक समातिएका छन् ।’
  सूचना पाए लगत्तै बलात्कारमा संलग्न युवाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय झापाले बुधवार साँझदेखि चिया बगान र आसपासका क्षेत्रमा प्रहरीका तीनवटा टोली परिचालन गरेको थियो । प्रहरीले घटनामा संलग्न अभियुक्तलाई विहीवार बिहान मात्र पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा दमक–९ का सचिन भट्टराइर्, सन्दीप दर्जी र आशिष दर्नाल रहेका छन् । उनीहरुलाई विहीवार अपरान्ह पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न एक युवक फरार छन् ।
  विहान पाँच बजे पीडित युवतीको उद्धार गरी उनैको भनाईका आधारमा अभियुक्त समातिएको प्रहरी प्रमुख बस्नेतले बताए । ‘बोलीचालीमा प्रयोग गरेको निक नेमका आधारमा उनीहरु समातिए’, बस्नेतले भने । बलात्कृत युवतीको प्रहरी संरक्षणमा उपचार भइरहेको छ  । उपचारपछि युवतीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।  घटनाको विषयलाई लिएर एमालेनिकट अखिल नेपाल महिला संघ झापा क्षेत्र नम्बर–७ ले झापाको दमकमा प्रदर्शन गरेको छ । नेपाल महिला संघ झापाले पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको संघकी झापा सभापति सुशिला ढकालले बताइन् ।

   यसैबीच झापाको सुरुङगा–७ की १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा परिवारजनले इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएका छन् । घटनामा संलग्नलाई कारवाही गर्न माग गर्दै पीडित युवतीका आफन्तले प्रहरीमा जाहेरी दिएका हुन् । २९ मंसिर ०६९ को साँझ घर नजिकै खेतमा स्थानीय सन्तोष उप्रेतीले ती युवतीलाई बलात्कारको गरेको परिवारजनले बुधवार दिएको किटानी जाहेरीमा उल्लेख छ । प्रहरी सहायक निरीक्षक कृष्ण श्रेष्ठले घटनापछि उप्रेती फरार रहेको बताए । 


No comments:

Post a Comment