सुब्रत न्यौपाने
झापा ४ माघ
भारतको पश्चिम बंगालमा नेपाली सवारी साधनले निर्वाध आवागमनको सुविधा पाउने भएका छन् । नेपाली अधिकारीले जारी गर्ने परमिटलाई आधार बनाएर भारतले सो क्षेत्रमा नेपाली सवारीलाई आवागमनको सुविधा दिने भएको हो ।
झापाको विर्तामोडमा विहीवार भएको सीमा व्यवस्थापन सम्वन्धी संयुक्त समन्वय बैठकमा भारतीय पक्षले त्यस्तो सहमति जनाएको झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताए । ‘नेपाली सुरक्षाकर्मी, एम्वुलेन्स, विवाहका गाडी र प्रशासनले परमिट जारी गरेका सवारीको आवागमनमा कुनै अवरोध नगर्ने सहमति भएको छ’, प्रजिअ शर्माले भने, ‘नेपाली सवारीको निर्वाध आवागमनका लागि भारतीय पक्ष प्रतिवद्ध छ ।’
झापा, इलाम, पा“चथर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीले जारी गरेको परमिटका आधारमा नेपाली सवारी साधनले सहज आवागमन पाउने प्रजिअ शर्माले बताए । सीमावर्ती क्षेत्रमा नेपाली सवारी आवागमनमा भारतीय प्रहरीले गरेको कडाईका कारण समस्या भएको भन्दै त्यसको समाधानका लागि नेपाली अधिकारीले प्रस्ताव गरेका थिए । नेपाली अधिकारीकै आग्रहमा भारतीय पक्ष प्रजिअले जारी गर्ने परमिटका आधारमा नेपाली सवारीलाई प्रवेश दिन सहमत भएको हो ।
बैठकमा जंगली हात्तीको आतंक नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीबीच संयुक्त कार्यदल बनाउने विषयमा पनि सहमति भएको छ । बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै दार्जीलिङ जिल्लाका प्रशासन प्रमुख डा. सौमित्रा मोहनले मान्छे र हात्तीबीचको द्धन्द्ध न्युनीकरणका लागि दुबै देशका अधिकारी सम्मिलित संयुक्त कार्यदल गठन गर्ने सहमति भएको बताए ।
‘हात्तीको उपद्रो रोक्न सिमा क्षेत्रमा संयुक्त गस्ती परिचालन गर्ने विषयमा हामी सहमत भएका छौ“’, उनले भने, ‘जंगली हात्तीको उपद्रो हाम्रा लागि पनि टाउको दुखाईको विषय हो ।’ भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण वर्सेनि एक दर्जनको ज्यान जाने गरेको भन्दै नेपाली पक्षले साझा रणनीति बनाउनु पर्नेमा जोड दिएको थियो । ‘हात्तीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न चाहिने सीप, क्षमता अभिवृद्धि गर्ने तथा मानव हात्तीवीचको द्वन्द्व न्युनीकरणका लागि स्थानीय तहमा दुबै देशका पदाधिकारीहरु रहने गरी संयुक्त कार्यदल गठन गर्न सहमति भयो’, प्रजिअ शर्माले भने ।
बैठकमा सीमा तथा दशगजा क्षेत्रमा हुने गरेका अतिक्रमण नियन्त्रण र भत्के बिग्रेका पिलर मर्मत गर्ने विषयमा पनि महत्वपूर्ण छलफल भएको झापाका प्रजिअ शर्माले जानकारी दिए । ‘सीमा तथा दशगजा क्षेत्रमा हुने गरेका अतिक्रमण नियन्त्रण र भत्के बिग्रेका पिलरको मर्मत गर्ने विषयमा महत्वपूर्ण छलफल भयो’, उनले भने, ‘यसमा भारतीय पक्ष पनि गम्भीरताका साथ प्रस्तुत भएको छ ।’
जानकारका अनुसार झापामा बाहुनडा“गीको तिरिङदेखि कुमरखोदको एक सय सात किलोमिटर क्षेत्रको ३६ स्थानमा सीमा विवाद छ । सन् १९८० मा गठित नेपाल भारत संयुक्त सीमा समितिले सन् १९८५ मा गरेको सीमाङ्कनपछि ती क्षेत्रमा सीमा विवाद बढेर गएको हो । सो समितिले भत्किएका पिलरहरु बनाउने र सीमा दुरुस्त पार्ने काम गरेको थियो ।
सीमा क्षेत्रका जानकारका अनुसार नेपाल र पश्चिम बङ्गालको सीमानामा पहिले रेल्वे लिगका पिलरहरु गाडिएका थिए । ‘त्यसैलाई आधार मानेर नेपाली भूमिमा पर्ने गरी मेची पुल बनाइएको थियो । तर, अहिले मेची पुलको आधाभन्दा बढी भाग भारतीय क्षेत्रमा परेको छ । पुलका १९ वटा पिलरमध्ये चारवटा मात्र नेपालमा पर्छन् ।
No comments:
Post a Comment