Thursday, January 24, 2013

डकैतीका अभियुक्त हतियारसहित पक्राउ



झापा १० माघ
  श्रृङखलावद्ध अपराधका घटनामा संलग्न तीन अभियुक्तलाई झापा प्रहरीले हतियारसहित पक्राउ गरेको छ । डकैती तथा लुटपाटका घटनामा संलग्न भएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
  पक्राउ पर्नेमा झापा खुदुनावारी–१ का नरेन्द्र फूँयल, पाकु चौधरी र गुल्मीका तेजेन्द्र रायमाझी रहेका छन् । उनीहरुलाई दुई थान अमेरिकन पेस्तोल र १४ राउण्ड गोलीसहित बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापाका प्रहरी प्रमुख एसपी शेरबहादुर बस्नेतले दुई महिना लामो प्रहरी अनुसन्धानपछि उनीहरु समातिएको बताए ।
  ‘दिनदहाडै हतियार देखाएर लुटपाट हुन थालेपछि सुरक्षास्थितिमाथि नै प्रश्न उठेको थियो’, बस्नेतले भने, ‘अव त्यस्तो अवस्था छैन्, अभियुक्त सबै प्रहरी फन्दामा छन् ।’ यसअघि पक्राउ परेका अन्य दुई अभियुक्तको बयानका आधारमा उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको एसपी बस्नेतले जानकारी दिए । यसअघि प्रहरीले झापा खुदुनावारीका रोशन कार्की र कमलबहादुर न्यौपानेलाई पक्राउ गरेको थियो ।
   झापामा भएका तीनवटा लुटपाटका घटनामा संलग्नता पुष्टि भएपछि १५ दिनअघि कार्की र न्यौपाने समातिएका थिए । उनीहरुको समूहले १६ असोजमा झापाको दमकबाट विर्तामोड फर्कदै गर्दा सञ्जय शारदा कन्र्सनका लेखापाल विश्वजित राजवंशीको साथमा रहेको १० लाख २४ हजार रुपैयाँ लुटेर लगेको थियो । राजवंशीको कञ्चटमा पेस्तोल ताकेर उनीहरुले सो पैसा लुटेको प्रहरीले जनाएको छ । २ पुसमा उनीहरुको समूहले झापाको विर्तामोडमा रहेको इलेक्ट्रीकल ट्रेड सेन्टर नामको आइएमईबाट एक लाख ३३ हजार रुपैयाँ लुटेको थियो ।
  ग्राहकको रुपमा प्रवेश गरेका उनीहरुले आइएमईमा कार्यरत कर्मचारी आशा प्रधानको कञ्चटमा पेस्तोल ताकेर सो रकम लुटेका थिए । पैसा झिक्न आएकी झापा गरामनीकी पूर्णमाया राईको पनि एक तोलाको सुनको सिक्री लुटिएको थियो । आइएमई लुटपाटका बेला झापा आएको खुलेपछि प्रहरीले गुल्मी घर भएका रायमाझीलाई पक्राउ गरेको हो । लुटेराले रायमाझीकै मोवाइल प्रयोग गर्ने गरेको पनि खुलेको छ । यसअघि २६ मंसिरमा कार्की र न्यौपानेकै योजनामा झापा चारआलीको मेट्रो पेट्रोल पम्पमा लुटपाट भएको थियो ।
  पेट्रोल पम्पका कर्मचारी नरेश बास्तोलालाई नियन्त्रणमा लिएर दुई राउण्ड फायर गरेपछि उनीहरुले पम्पबाट ३० हजार रुपैयाँ र मोवाइल लुटेर लगेका थिए । पक्राउ परेकामध्ये चौधरी पूर्व सैनिक हुन् । बहालवाला अवस्थामा लुटपाट तथा अन्य आपराधिक घटनामा संलग्न भएको पाइएपछि उनी कारवाहीमा परेका थिए । कारवाही भोगेर निस्किएलगत्तै उनी पुन लुटपाटमा सक्रिय भएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तयले वैदेशिक रोजगारीमा जानका लागि लुटपाट गर्नु परेको बयान दिएका छन् ।


Wednesday, January 23, 2013

शाकाहारी गाउँको कथा


लारुम्बा इलामको बाँझो गाविसमा पर्छ । जहाँ मासुको प्रयोग निषेध छ । गाविसको ८ र ९ नम्बर वडामा फैलिएको यस गाउँमा कसैले पनि धूम- मध्यपान गर्दैनन् । स्थानीय नन्द नेम्वाङका अनुसार ०६६ सालदेखि त्यस्ता वस्तु निषेध गरिएको हो । उनी भन्छन्, 'यस स्थानमा बसोबास गर्ने कसैले मासु, जाड-रक्सी, सुर्ती-चुरोट प्रयोग गर्दैनन् । गुठ्खा, मधु, परागसमेत खान मनाही छ । काटमार गर्न पनि पाइँदैन ।'
तपाईं बाहिरबाट लारुम्बा जाँदै हुनुहुन्छ भने पनि सावधान π बाहिरबाट जानेहरूले समेत गाउँमा निषेधित वस्तु खान पाउँदैनन् । तोकिएको क्षेत्रभित्र बेचबिखन पनि हुँदैन ।
कानुन त कार्यान्वयन नहुने देशमा नियम बनाउँदै लागू हुन्छ नै भन्ने छैन । यो कुरामा पनि लारुम्बावासी सचेत छन् । त्यसैले यहाँका युवा निषेधित वस्तु प्रयोग गरे/नगरेको अनुगमन गर्छन् । समाजमा नराम्रा मानिएका वस्तुको प्रयोग बन्द गर्नका लागि धार्मिक आचार-संहिता निर्माण गरिएको छ । आचार-संहितामा हिंसा नगर्ने, जीव हत्या गरेर पूजा नगर्ने, छोरी-चेलीको रुपौली-सुनौली नखाने, झुट नबोल्ने, चोरी सिकार नगर्नेलगायत कुरा छन् । धूमपान र मद्यपान निषेध गरिएकाले पहिले सेवन गर्नेहरूको पनि बानी छुटिसकेको छ । 'पहिला नजान्दा खानेले पनि अहिले मुखमै हाल्दैनन्,' नन्द नेम्वाङ भन्छन्, 'गाउँभरि कसैको घरमा जाँड-रक्सी बन्दैन । मादक पदार्थ कसैले नखाने भएकाले गाउँ नै शान्त छ ।' उनले थपे, 'गाउँमा खासै झै-झगडा हँुदैन, समाजमा झै-झगडा गराउनेे मादक पदार्थ नै त हो ।' 
लारुम्बा अहिले 'शाकाहारी गाउँ'को रूपमा चर्चित भएको छ । 
किराँत धर्मगुरु फाल्गुनन्दको 'सत्यहाङमा'को अनुशरण गर्दै जाँदा गाउँ यस्तो बनेको स्थानीय बताउँछन् । १९४२ सालमा इलामको इभाङमा जन्मिएका फाल्गुनन्दले किरातीलाई सत्मार्गमा ल्याउनका लागि सत्यहाङमाको धारणा अघि सारेका थिए । किरात समुदायमा रहेको विसंगति-विकृति हटाउन फाल्गुनन्दले बनाएको आचार-संहितालाई सत्यहाङमा भनिन्छ । उनले १९८८ सालमा तत्कालीन दश लिम्बुवानका अगुवालाई भेला गरेर पाँचथरको लब्रेकुटीमा सत्यहाङमा मुचुल्का बनाएका थिए । 
लारुम्बाका एक हजार एक सय परिवारले फाल्गुनन्दको सत्यहाङमा अनुशरण गरिरहेका छन् । लिम्बूहरूको बाक्लो बस्ती भएको लारुम्बामा राई, मगर गुरुङ, नेवार, दलित र ब्राह्मण समुदायको पनि बसोबास छ । साढे पाँच किलोमिटरको परिधिमा रहेको लारुम्बा किराँतीको धार्मिकस्थल पनि हो । त्यहाँका किरातीले अहिले आत्मनन्द लिङदेनलाई धर्मगुरुका रूपमा मानेका छन् । ०३५ सालमा इभाङबाट आत्मानन्द लिङदेन लारुम्बा गएर बसेपछि लारुम्बा धार्मिकस्थलको रूपमा विकास भएको हो । आत्मानन्द फाल्गुनन्दका जेठा दाजुको जेठा छोराका छोरा हुन् ।
अहिले किरातीको धार्मिक ग्रन्थ मुन्धुम अध्ययन स्थलको रूपमा समेत लारुम्बा विकास हँुदै छ । लारुम्बा किरात दर्शनको पढाइ हुने नेपालमै एक मात्र ठाउँ भएको स्थानीय अमृत सुब्बाले बताए । उनका अनुसार अहिले सात सय बढीले किरात धर्म तथा दर्शनको अध्ययन गरिरहेका छन् । बिहान र दिउँसो गरेर दुई चरणमा कक्षा सञ्चालन हुने गरेको छ । 
लारुम्बामा सिक्किम, दार्जिलिङ, आसाम, भुटान, बर्माबाट समेत किराती आउने गरेको स्थानीय केहेरसिंह योङहाङ बताउँछन् । त्यहाँ बसोबास गर्ने किरात धर्मावलम्बीले धार्मिक कार्यक्रममा सेतो रङको तागाहाङमाजाङ र मेख्ली -पहिरनको नाम) लगाउने गरेका छन् । शान्तिको प्रतीकको रूपमा लारुम्बावासीले सेतो कपडाको प्रयोग गर्ने गरेका हुन् । 
लारुम्बामा धेरै राजनीतिक नेता पुगिसकेका छन् । लारुम्बाको धार्मिक कार्यक्रममा नेपालका राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा पनि पुगेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो कार्यकालमा लारुम्बामा भएको कार्यक्रममा पुगेर फाल्गुनन्दलाई १६औँ राष्ट्रिय विभूति घोषणा गरेका थिए । विघटित संविधानसभाको अध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि वेला-वेला लोरुम्बा जाने गरेका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र विभिन्न समयमा लारुम्बामा भएको कार्यक्रममा सहभागी भएका थिए । द्वन्द्वकै समयमा माओवादी अध्यक्ष प्रचण्डसमेत लारुम्बा आएको स्थानीयको दाबी छ । 
शान्ति र समाज सुधारको सन्देश दिने फाल्गुनन्दको पद पछ्याएर उदाहरणीय बनेको लारुम्बा आध्यात्मिक पर्यटनको क्षेत्र बनिरहेको छ । तर, यो इलामको दुर्गम गाविसमध्येको एक हो । झापाको दमकबाट आवत-जावत गर्नुपर्ने भएकाले सदरमुकामबाट लारुम्बा सीधा सम्पर्कमा पर्दैन । यस गाउँमा जेठदेखि असोजसम्म यातायातका साधन चल्दैनन् । रतुवा खोलाको बगरबाट यातायात सञ्चालन हुने भएकाले त्यहाँ जानका लागि एउटै खोला ६० पटकभन्दा बढी तर्नुपर्छ । त्यसैले पूर्वसभामुख नेम्वाङले ठट्टाको भाषामा 'लारुम्बामा पुलमुनिबाट बाटो कुद्छ' भन्ने गरेका छन् । विद्युत् प्रशारणको लागि लाइन विस्तार गरिए पनि विद्युत् सेवा चालू छैन । त्यस्तै, सञ्चारको समेत भरपर्दो सेवा छैन । खानेपानीको पनि समस्या रहेको स्थानीय बताउँछन् । सरोकारवाला निकायले यहाँ विकासका पूर्वाधार पुर्‍याउन पहल गर्ने हो भने यो गाउँ शान्ति र सामाजिक सुधारको केन्द्र बन्ने निश्चित त छ नै, महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र पनि बन्ने निश्चित छ ।

को हुन् फाल्गुनन्द ?

फाल्गुनन्दलाई किरात धर्मको महान् गुरु मानिन्छ । उनी २५ कात्तिक १९४२ मा बाबु जगनबाज लिम्बू लिङदेन र आमा हंसमती लिम्बूको कोखबाट साइँला छोराका रूपमा जन्मिएका हुन् । उनको न्वारानको नाम भने नरध्वज लिङदेन हो । बाल्यकालमा सिकिस्त बिरामी परेका थिए । त्यस वेला स्थानीय 'जान्ने'ले फलामको चुरा लगाइदिए निको हुने सल्लाह दिएपछि उनको हातमा फलामको चुरा लगाइयो । फलामको चुरा लगाएकै कारण उनको नाम फलामसिंह रहन गएको थियो । युवावस्थामा गाउँका अन्य युवासँगै बेलायती फौजमा भर्ती भएपछि उनको नाम फलामसिंबाट फाल्गुनन्द भएको भयो । 
करिब आठ वर्षकै उमेरदेखि उनले हत्या-हिंसा गर्न नहुने, झुठो बोल्न नहुने, नारीजाति सृष्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्च सम्मान गर्नुपर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकी चोखोेसँग 'माङसेवा' -पूजा आराधना) गर्नुपर्ने, मासु तथा मदिरापान गर्नु नहुनेजस्ता कुरा गर्न थाले । सानैमा उनले गरेको यस्तो कुराले उनलाई दिव्य ज्योति प्राप्त भएको मानियो । फाल्गुनन्द सेनामा रहँदा पनि साँझ बिहान पूजापाठमा लीन रहने गरेका हुनाले उनलाई 'योगी' 'तपस्वी' जस्ता उपनामले पुकारिने गरिन्थ्यो । पछि उनले लडाइँबाट शान्ति स्थापना हुन नसक्ने भन्दै राजीनामा दिए । त्यसपछि किराती जातिको मौलिक धर्म, संस्कृति र ज्ञानको प्रचार गर्दै उनी भारत, भुटान हुँदै आफ्नो जन्मस्थल फर्के । 
गाउँ फर्केपछि उनले आफ्नो ठाउँ र विशेष गरी किरात जातिका लिम्बू समुदायलाई सामाजिक विसंगति र विकृतिले गाँजेको देखे । त्यसलाई रोक्न उनले २५ वैशाख १९८८ मा तत्कालीन 'दश लिम्बुवान सत्रथुम' समाजका वरिष्ठ व्यक्तित्वलाई बोलाएर पाँचथरका फिदिमनजिक रहेको लब्रेकुटीमा भेला गरे । त्यहाँ उनले सबैलाई आफ्नो वास्तविक धर्मबाट अञ्जान रहेको, जाँड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी विवाह भोज गरी आर्थिक रूपमा दलदलमा फसेकाले समाजको हर क्षेत्रमा माथि उठ्नै नसकेको बताए । त्यसलाई रोक्न सबैले विसंगति, विकृति र कुरितिबाट मुक्त हुने तथा आ-आफ्नो थुममा गई सबैलाई सम्झाउने, बुझाउने, मौलिकताको पहिचान गराउने भनी दशबुँदे लिखित मुचुल्का तयार पार्न लगाए । जसलाई 'सत्यहाङमा मुचुल्का' भनिन्छ । त्यहाँ उपस्थित सबैले आ-आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृति तथा दशबुँदे मुचुल्काको प्रचार-प्रसार गर्ने वचन गरे । 
फाल्गुनन्दले 'सत्यहाङमा मुचुल्का' मात्र बनाएनन्, त्यो लागू भए/नभएको निरीक्षण गर्न समय-समयमा लिम्बुवान क्षेत्रका हरेक गाउँमा पुगे । यस क्रममा उनले चेलाहरूसँगै कुम्भकर्णका फेदीमा पुगेर महिनौँ ध्यान, तपस्यासमेत गरे । यसरी धर्म प्रचार तथा मौलिकताको पहिचान गराउँदै हिँड्दा उनलाई तत्कालीन राणा सरकारले राजनीति गरेर राणा शासनको विरोधमा जनतालाई जागरुक बनाएको आशंका गरे । त्यसैले तत्कालीन धनकुटा जिल्लाका वडा हाकिमको निर्देशनमा उनलाई काठमाडांै पुर्‍याएर सोधपुछ पनि गरिएको थियो । 
उनले साँझ-बिहान आ-आफ्नो घरमा युमा साम्माङको 'माङसेवा' गर्ने चलन चलाए । त्यस्तै, सामूहिक रूपमा 'माङ सेवा' गर्नका लागि मेची र कोसी अञ्चलका विभिन्न स्थानमा सातवटा माङहिम -मन्दिर) बनाएका छन् । उनले कुम्भकर्ण हिमाललाई किरातीको पवित्र धार्मिक तीर्थस्थल मान्दै त्यहाँ पनि एक 'माङहिम' बनाए । 
उनले प्रचार गरेको ज्ञानमा कोरा धार्मिक विषयको सट्टा सामाजिक सुधारका विषय बढी समेटिएका थिए । उनी भन्थे, 'आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुनुहँुदैन । मदिरा सेवन र असामाजिक क्रियाकलाप गरी मतिभ्रष्ट हुनुहँुदैन, विवाहमा आफ्नो आर्थिक गच्छेभन्दा बढी तडकभडकका साथ खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्नु हुन्न । समाजका जननी 'युमा साम्माङ' नै नारी भएका हुनाले समाजमा नारीलाई उच्च सम्मान गर्नुपर्छ । 'मेजमान' तथा खानका लागि पशु, प्राणीको हत्या गर्नु हुन्न । अन्नबाली वा जस्तोसुकै खाने कुरा पनि 'हिम साम्माङ', 'युमासाम्माङ'लाई नचढाई खानु हुन्न । 'हिम साम्माङ' तथा 'युमासाम्माङ'लाई पशु बलि चढाउँदा उनीहरू खुसी हुँदैनन्, त्यसैले पशु बलि दिनुहुन्न । त्यसको सट्टा फलफूल र नैवेद मात्र चढाएर 'माङसेवा' गनुपर्छ ।' 

ख्याम भुजेल/इलाम



Sunday, January 20, 2013

पश्चिम वंगालमा नेपाली सवारीलाई आवागमन सुविधा


सुब्रत न्यौपाने
झापा ४ माघ 
   भारतको पश्चिम बंगालमा नेपाली सवारी साधनले निर्वाध आवागमनको सुविधा पाउने भएका छन् । नेपाली अधिकारीले जारी गर्ने परमिटलाई आधार बनाएर भारतले सो क्षेत्रमा नेपाली सवारीलाई आवागमनको सुविधा दिने भएको हो ।
  झापाको विर्तामोडमा विहीवार भएको सीमा व्यवस्थापन सम्वन्धी संयुक्त समन्वय बैठकमा भारतीय पक्षले त्यस्तो सहमति जनाएको झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताए । ‘नेपाली सुरक्षाकर्मी, एम्वुलेन्स, विवाहका गाडी र प्रशासनले परमिट जारी गरेका सवारीको आवागमनमा कुनै अवरोध नगर्ने सहमति भएको छ’, प्रजिअ शर्माले भने, ‘नेपाली सवारीको निर्वाध आवागमनका लागि भारतीय पक्ष प्रतिवद्ध छ ।’
 झापा, इलाम, पा“चथर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीले जारी गरेको परमिटका आधारमा नेपाली सवारी साधनले सहज आवागमन पाउने प्रजिअ शर्माले बताए । सीमावर्ती क्षेत्रमा नेपाली सवारी आवागमनमा भारतीय प्रहरीले गरेको कडाईका कारण समस्या भएको भन्दै त्यसको समाधानका लागि नेपाली अधिकारीले प्रस्ताव गरेका थिए । नेपाली अधिकारीकै आग्रहमा भारतीय पक्ष प्रजिअले जारी गर्ने परमिटका आधारमा नेपाली सवारीलाई प्रवेश दिन सहमत भएको हो ।
 बैठकमा जंगली हात्तीको आतंक नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीबीच संयुक्त कार्यदल बनाउने विषयमा पनि सहमति भएको छ । बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै दार्जीलिङ जिल्लाका प्रशासन प्रमुख डा. सौमित्रा मोहनले मान्छे र हात्तीबीचको द्धन्द्ध न्युनीकरणका लागि दुबै देशका अधिकारी सम्मिलित संयुक्त कार्यदल गठन गर्ने सहमति भएको बताए ।
  ‘हात्तीको उपद्रो रोक्न सिमा क्षेत्रमा संयुक्त गस्ती परिचालन गर्ने विषयमा हामी सहमत भएका छौ“’, उनले भने, ‘जंगली हात्तीको उपद्रो हाम्रा लागि पनि टाउको दुखाईको विषय हो ।’ भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण वर्सेनि एक दर्जनको ज्यान जाने गरेको भन्दै नेपाली पक्षले साझा रणनीति बनाउनु पर्नेमा जोड दिएको थियो । ‘हात्तीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न चाहिने सीप, क्षमता अभिवृद्धि गर्ने तथा मानव हात्तीवीचको द्वन्द्व न्युनीकरणका लागि स्थानीय तहमा दुबै देशका पदाधिकारीहरु रहने गरी संयुक्त कार्यदल गठन गर्न सहमति भयो’, प्रजिअ शर्माले भने ।
  बैठकमा सीमा तथा दशगजा क्षेत्रमा हुने गरेका अतिक्रमण नियन्त्रण र भत्के बिग्रेका पिलर मर्मत गर्ने विषयमा पनि महत्वपूर्ण छलफल भएको झापाका प्रजिअ शर्माले जानकारी दिए । ‘सीमा तथा दशगजा क्षेत्रमा हुने गरेका अतिक्रमण नियन्त्रण र भत्के बिग्रेका पिलरको मर्मत गर्ने विषयमा महत्वपूर्ण छलफल भयो’, उनले भने, ‘यसमा भारतीय पक्ष पनि गम्भीरताका साथ प्रस्तुत भएको छ ।’
 जानकारका अनुसार झापामा बाहुनडा“गीको तिरिङदेखि कुमरखोदको एक सय सात किलोमिटर क्षेत्रको ३६ स्थानमा सीमा विवाद छ । सन् १९८० मा गठित नेपाल भारत संयुक्त सीमा समितिले सन् १९८५ मा गरेको सीमाङ्कनपछि ती क्षेत्रमा सीमा विवाद बढेर गएको हो । सो समितिले भत्किएका पिलरहरु बनाउने र सीमा दुरुस्त पार्ने काम गरेको थियो ।
  सीमा क्षेत्रका जानकारका अनुसार नेपाल र पश्चिम बङ्गालको सीमानामा पहिले रेल्वे लिगका पिलरहरु गाडिएका थिए । ‘त्यसैलाई आधार मानेर नेपाली भूमिमा पर्ने गरी मेची पुल बनाइएको थियो । तर, अहिले मेची पुलको आधाभन्दा बढी भाग भारतीय क्षेत्रमा परेको छ । पुलका १९ वटा पिलरमध्ये चारवटा मात्र नेपालमा पर्छन् ।



Monday, January 14, 2013


                                         नेपाल र भारतका पत्रकार दार्जीलिङमा 

क्याम्पसको जग्गा जोताहाको कब्जामा


सुब्रत न्यौपाने झापा १ माघ
  झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको जग्गा जोताहाले कब्जा गरेका छन् । ठेक्का तिर्नुपर्ने पूर्वसर्तविपरीत जोताहाले क्याम्पसको जग्गा कब्जामा लिएका हुन् ।
 झापा शरणामती–५ मा रहेको क्याम्पसको १२० विघा जग्गा लामो समयदेखि स्थानीय जोताहाको कब्जामा छ । जोताहाले डेढदशकदेखि ठेक्का नबुझाएको मेची क्याम्पसका प्रमुख उमानाथ ओलीले बताए । ‘जोताहाले जग्गा छोड्न पनि मानेका छैनन्’, उनले भने, ‘नत क्याम्पसलाई ठेक्काबापतको धान नै प्राप्त भएको छ ।’
 २०५४ सालदेखि क्याम्पसले ठेक्का उठाउन सकेको छैन । जमिन्दार देवीप्रसाद उप्रेतीले क्याम्पसलाई निशुल्करुपमा उपलब्ध गराएको सो जग्गा एकसय ६१ जना जोताहाको कब्जामा छ । क्याम्पसले प्रतिविघा आठ मन धान लिने शर्तमा जग्गा ठेक्का दिएको थियो । तर हाल जोताहाले प्रतिविघा ६० मन धान उत्पादन गरिरहेका छन् ।
  प्रत्येक वर्ष ठेक्का बुझाउन पत्राचार गरिए पनि उनीहरुले अटेर गर्दै आएको क्याम्पस प्रमुख ओलीले बताए । ‘कर्मचारी पठाउ“दा पनि उल्टै धम्क्याएर पठाउ“छन्’ उनले भने, ‘चाहनेले पनि ठेक्काबापतको बाली तिर्न पाएका छैनन् ।’ जोताहाले संघर्ष समिति गठन गरेर ठेक्का नबुझाउन उर्दी गरेपछि तिर्न खोज्नेहरु पनि निरुत्साहित भएको ओलीले बताए । जोताहामध्येका सात जनाले ठेक्का नबुझाउने निर्णय गर्दै बुझाउन चाहनेलाई घरमा आगो लगाइदिने धम्की दिने गरेका छन् ।
 १२० विघामध्ये ११ विघा जग्गाको मात्र एक हजार मन धान क्याम्पसले ठेक्का पाउन बा“की छ । १०९ विघा जग्गाबापत क्याम्पसले पाउने ठेक्काको कुनै हिसाव छैन । झापाका सबै राजनीतिक दलले यसअघि नै स्थानीय इकाईलाई पत्राचार गरी क्याम्पसलाई ठेक्का बुझाउन सहयोग गर्नु भनी निर्देशन दिए पनि ठेक्का उठ्न सकेको छैन । राजनीतिक दलले गरेको पत्राचारलाई समेत बेवास्ता गरेपछि जग्गा खाली गर्न स्थानीय प्रशासनले पहल थालेको छ ।
  झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले क्याम्पसको जग्गा खाली गराउन सरोकारवालास“ग छलफल भइरहेको बताए । ‘क्याम्पसको जग्गा खाली गर्न राजनीतिक दलको समेत सहमति छ’, उनले भने, ‘अव जोताहास“ग जग्गा छोड्नुको विकल्प छैन ।’

Thursday, January 10, 2013

झापामा बढ्दै छ महिला हिंसा



सुब्रत न्यौपाने
झापा २६ पुस 
   प्रेमीसँग ‘डेटिङ’ गएकी एक युवती यसैसाता झापाको दमकमा सामूहिक बलात्कारको शिकार भइन् । प्रेमीबाट खोसेपछि नजिकैको चिया बगानमा लगेर चार युवकले ती युवतीलाई रातभर बलात्कार गरे । युवतीका प्रेमीको उजुरीका आधारमा प्रहरीले घटनामा संलग्न तीन युवकलाई तत्काल पक्राउ गर्यो । तर राष्ट्रिय चर्चा पाएको यो घटना झापामा पहिलो भने थिएन । 
  १९ माघ २०६८ मा झापाको हल्दीवारी–४ की सावित्रा राजवंशीको बलात्कारपछि हत्या भयो । स्थानीय चिया बगान नजिक दाउरा संकलन गरिरहेका बेला सोही ठाउँँका मिथुन राजवंशीले १७ वर्षीया सावित्रालाई बलात्कार गरे । घटना सार्वजनिक हुने भएपछि सावित्रालाई ‘घाँटी थिचेर मारेको’ उनले प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको अघिल्लो दिन विर्तामोडमा एकजना महिलालाई अर्धनग्न देखेपछि सावित्रालाई बलात्कार गर्ने योजना बनाएरै उनी घर गएका थिए ।
   चिया बगान नजिक दाउरा खोजिरहेकी स्कुले छात्रामाथि एकान्तको फाइदा उठाउँदै खनिएका राजवंशीले त्यो भन्दाअघि पनि उनकै घरमा गएर बलात्कार प्रयास गरेको खुलेको थियो । त्यो घटना सार्वजनिक हुन नपाउँदै सावित्राको ज्यान गयो । आदिवासी समुदायभित्रको सो घटनाको विरोधमा कहीँकतै प्रदर्शन भएन । महिला अधिकारकर्मीले घटनाको निन्दा त के मुखसम्म पनि खोलेनन् । उल्टै कारवाहीको दायरालाई खुकुलो बनाउन प्रहरीलाई राजनीतिक दवाव आयो । त्यसलाई झापा प्रहरीले टेरेन । अन्तत पीडक अहिले पुर्पक्षका लागि थुनामा छन् ।
  ‘बलात्कार र महिला हिंसाका यस्ता थुप्रै घटना थिए, जुन सञ्चारमाध्यमका प्राथमिकतामै परेनन’्, अधिकारकर्मी अर्जुन बस्नेतले भने, ‘बलात्कारपछि ज्यानै लिएका घटनामा राजनीतिक दल र तिनका भ्रातृसंगठनले कारवाही हुनबाट रोक्दा दण्डहीनता मौलाउनु स्वभाविक हो ।’ महिला हिंसा र बलात्कारका घटनामा संलग्नलाई कानुनी कारवाहीबाट उन्मुक्ति दिन राजनीतिक दवाव आउने गरेकाले पनि दोषीमाथिको कारवाही प्रभावकारी हुन नसकेको बस्नेतको ठम्याई छ ।
  ‘हिंसाविरुद्ध प्रतिकारमा उत्रिएका महिलालाई सहानुभूति दिन पनि समाजले कन्जुस्यार्इँ गरिरहेको छ’, बस्नेतले भने, ‘यसबाट उल्दै उनीहरुको मनोवल कमजोर हुन्छ ।’ झापा महारानीझोडा–५ की कल्पना विक यस्ती उदाहारण हुन्, जसले २७ असोज २०६९ को राति आफूलाई बलात्कार गर्न आएका स्थानीय भीमप्रसाद अधिकारीको प्रतिकार गरिन् । प्रतिकारमा अधिकारीले ज्यान गुमाए । विक आफँैले प्रहरीसमक्ष आत्मसमर्पण गरिन् । थियो ।
  १३ वैशाख २०६९ मा पनि झापा हल्दीवारी–२ का दुई महिला सामूहिक बलात्कारको शिकार भए । डाँगीवारी–१ का आधादर्जन युवाले स्थानीय खोला किनारमा उनीहरुको अस्मिता लुटे । घटनामा संलग्न भएकामध्ये सुरेश महली, रमेश महली, मंगलसिंह बेस्रा र सोनाराम मुर्मु, अर्जुन मुर्मु, सुनिल मुर्मुलाई प्रहरीले पक्राउ गर्यो । घटनाका अन्य दुई आरोपी भैरव मुर्मु र भरत मुर्मु अझै फरार छन् ।
 महिला तथा बालबालिकामाथि हुने गरेको हिंसामा बलात्कारको अवस्था डरलाग्दो छ । ०६७ पुस यताको दुई वर्षमा झापामा बलात्कारका २९ घटना भएका छन् । त्यसमा बलात्कृत हुने बालिकाको संख्या मात्रै १६ छ । बलात्कारपछि एक जना बालिकाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । ०६८ पुसयता मात्रै बलात्कारका ११ घटना भएका छन् । त्यसमा बलात्कृत बालिका चार जना छन् । सुस्तमनस्थितिका दुई बालिका पनि बलात्कारको शिकार भएका छन् । हाडनाता करणीका घटना पछिल्लो समय बढ्दै गएको इन्सेकको तथ्याङ्क छ । ५ कात्तिक २०६९ मा झापा गरामनी–२ की ११ वर्षीया सुस्तमनस्थिति भएकी बालिका बलात्कारको शिकार भइन् । इलाम घर भई सोही ठाउँमा डेरा बस्ने भवानीकुमार राईले ती बालिकालाई बलात्कार गरे । २८ जेठ २०६९ मा झापा चकचकी–२ की १२ वर्षीया बालिकालाई सोही ठाउँका भीम राजवंशी घरमै गएर बलात्कार गरे ।
 ‘यतिसम्म कि बृद्ध उमेरका महिलाले पनि आफ्नै नातेदारबाट बलात्कारको पीडा सहनुपरेको छ’, इन्सेकका जिल्ला कार्यक्रम संयोजक लक्ष्मी निरौलाले भने, ‘मानिस कतिसम्म घृणित बन्नसक्छ भन्ने उदाहारण अन्यत्र खोजिरहनु पर्दैन ।’ झापा अनारमनी–४ की ७६ बर्षीया वृद्धालाई उनकै ३५ वर्षीय ज्वाईँ दुर्गा सिवाकोटीले २१ माघ ०६८ को राति गरेको बलात्कार यसको उदाहारण हो । सिवाकोटी हाल पुर्पक्षका लागि थुनामा छन् । वृद्धा अवस्थाका महिला बलात्कार भएको घटना झापामा नया“ हो ।
 
 एक वर्षमा आठ मारिए
   आवेग थेग्न नसक्ने सामान्य मानवीय कमजोरीले हिंसाका घटना बढ्दै गएको पाइएको छ । ०६८ पुस यता एक वर्षको अवधिमा चार महिला र चार बालबालिकाले अनाहकमा ज्यान गुमाएका छन् । ‘झापामा सामान्य विषयमा ज्यान गुमाउनु पर्ने डरलाग्दो स्थिति देखिएको छ’, अधिकारकर्मी अर्जुन बस्नेतले भने, ‘प्रत्येकवर्ष यस्ता घटना दोहोरिरहेका छन् ।’ झापाको जलथल–४ मा बाबुले श्रीमती र दुई छोराछोरीको ‘निर्ममतापूर्वक’ हत्या गरेको घटनालाई यसको पछिल्लो उदाहरणका रुपमा लिन सकिने बस्नेतले बताए ।
   घर फर्कन नमानेकै कारण भारत मणिपुर घर भएका शोभा थोकचोकले १३ असार २०६९ मा २५ वर्षीया श्रीमती रेविका, चार वर्षीय छोरा अरुण र तीन महिने छोरी सुनिताको ज्यान लिएका थिए । अघिल्लो वर्ष झापाको ज्यामिरगढीमा पनि सामान्य भनाभनमा बाबुले श्रीमती र दुई छोराछोरीको हत्या गरेका थिए । पारिवारिक अंश विवादमा न्यायको पर्खाइमा रहेकी झापा पा“चगाछी–७ की हेमकुमारी श्रेष्ठको हत्या पनि सामान्य विवादमा भएको थियो ।
  कानुन प्रदत्त अंशको अधिकारका लागि सङ्घर्ष गर्दा गर्दै १४ असार २०६९ मा देवर राजकुमार श्रेष्ठले कोदालोले टाउकोमा हानेर हेमकुमारीको हत्या गरेका थिए । शरणामती–५ की सञ्चलक्ष्मी लिम्वूले पनि श्रीमान्को आक्रमणमा १५ कात्तिक २०६९ मा ज्यान गुमाइन् । श्रीमान् सुखराज लिम्वूले खुकुरीले काटेर उनको हत्या गरे । १ पुस २०६९ मा श्रीमान्ले रक्सी खान मागेको पैसा नदिँदा सतासीधाम–१ डुँडामारीकी सुकलक्ष्मी नेपालीले संसारबाट बिदा लिनु पर्यो । श्रीमान् मानवहादुरले बञ्चरोले हानेर उनको हत्या गरे । घटनापछि श्रीमतीको साथमा भएको पैसा लिएर उनी फरार छन् ।









दुई वर्षमा १६ बालिका बलात्कृत


Monday, January 7, 2013

चिया बगानमा रातभर सामूहिक बलात्कार


सुब्रत न्यौपाने
झापा १९ पुस
  प्रेमीसँग ‘डेटिङ’ मा हिँडेकी एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । झापाको दमकस्थित हिमालय गुडरिक (चिया बगान) मा बुधवार साँझ चार जना युवाले बजगाईँ थरकी युवतीलाई सामूहिक बलात्कार गरेका हुन् ।
  तेह्थुम ओयाजुङ स्थायी घर भएकी १९ वर्षीया ती युवती अध्ययनका लागि झापाको दमकमा बस्दै आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । स्नातक तह दोस्रो वर्षकी विद्यार्थी रहेकी ती युवती प्रेमीलाई भेट्न साँझपख स्थानीय धरधरे खोला नजिकको कल्भर्टमा पुगेकी थिइन् । चिया बगान नजिकैको सडकमा गफिरहेका बेला आएका चार युवाले युवतीका प्रेमी बीरबल खड्कालाई निर्घात पिटेका थिए ।
 ‘त मात्र रमाइलो गर्ने’ भन्दै ती युवाले मरणासन्न हुने गरी खड्कालाई कुटेको झापाका प्रहरी प्रमुख एसपी शेरबहादुर बस्नेतले बताए । ‘प्रतिकार गरेपछि युवा समूहले खड्कालाई कुटेर युवतीलाई बगानभित्र लगेर पालैपालो बलात्कार गरेको अनुसन्धानमा खुलेको छ’, एसपी बस्नेतले भने, ‘खड्काको उजुरीका आधारमा बलात्कारका घटनामा संलग्न तीन युवक समातिएका छन् ।’
  सूचना पाए लगत्तै बलात्कारमा संलग्न युवाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय झापाले बुधवार साँझदेखि चिया बगान र आसपासका क्षेत्रमा प्रहरीका तीनवटा टोली परिचालन गरेको थियो । प्रहरीले घटनामा संलग्न अभियुक्तलाई विहीवार बिहान मात्र पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा दमक–९ का सचिन भट्टराइर्, सन्दीप दर्जी र आशिष दर्नाल रहेका छन् । उनीहरुलाई विहीवार अपरान्ह पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न एक युवक फरार छन् ।
  विहान पाँच बजे पीडित युवतीको उद्धार गरी उनैको भनाईका आधारमा अभियुक्त समातिएको प्रहरी प्रमुख बस्नेतले बताए । ‘बोलीचालीमा प्रयोग गरेको निक नेमका आधारमा उनीहरु समातिए’, बस्नेतले भने । बलात्कृत युवतीको प्रहरी संरक्षणमा उपचार भइरहेको छ  । उपचारपछि युवतीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।  घटनाको विषयलाई लिएर एमालेनिकट अखिल नेपाल महिला संघ झापा क्षेत्र नम्बर–७ ले झापाको दमकमा प्रदर्शन गरेको छ । नेपाल महिला संघ झापाले पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको संघकी झापा सभापति सुशिला ढकालले बताइन् ।

   यसैबीच झापाको सुरुङगा–७ की १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा परिवारजनले इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएका छन् । घटनामा संलग्नलाई कारवाही गर्न माग गर्दै पीडित युवतीका आफन्तले प्रहरीमा जाहेरी दिएका हुन् । २९ मंसिर ०६९ को साँझ घर नजिकै खेतमा स्थानीय सन्तोष उप्रेतीले ती युवतीलाई बलात्कारको गरेको परिवारजनले बुधवार दिएको किटानी जाहेरीमा उल्लेख छ । प्रहरी सहायक निरीक्षक कृष्ण श्रेष्ठले घटनापछि उप्रेती फरार रहेको बताए । 


साँझमा प्रेमीसँग ‘डेटिङ’ जाँदा................


सतासीमा बस्छौँ भने लागूऔषध छोड

जातिय पहिरनमा सजिएका सन्थाल नृत्य गर्दै ।                                                                          युवापुस्ताको घट्दो आकर्षणका कारण सन्थाल नृत्य लोप हुने अवस्थामा पुगेको छ ।

कलाकार सीताराम कट्टेल धुर्मुससँग कुरा गर्दै ।