सुब्रत न्यौपाने
झापा २६ पुस
झापा २६ पुस
प्रेमीसँग ‘डेटिङ’ गएकी एक युवती यसैसाता झापाको दमकमा सामूहिक बलात्कारको शिकार भइन् । प्रेमीबाट खोसेपछि नजिकैको चिया बगानमा लगेर चार युवकले ती युवतीलाई रातभर बलात्कार गरे । युवतीका प्रेमीको उजुरीका आधारमा प्रहरीले घटनामा संलग्न तीन युवकलाई तत्काल पक्राउ गर्यो । तर राष्ट्रिय चर्चा पाएको यो घटना झापामा पहिलो भने थिएन ।
१९ माघ २०६८ मा झापाको हल्दीवारी–४ की सावित्रा राजवंशीको बलात्कारपछि हत्या भयो । स्थानीय चिया बगान नजिक दाउरा संकलन गरिरहेका बेला सोही ठाउँँका मिथुन राजवंशीले १७ वर्षीया सावित्रालाई बलात्कार गरे । घटना सार्वजनिक हुने भएपछि सावित्रालाई ‘घाँटी थिचेर मारेको’ उनले प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको अघिल्लो दिन विर्तामोडमा एकजना महिलालाई अर्धनग्न देखेपछि सावित्रालाई बलात्कार गर्ने योजना बनाएरै उनी घर गएका थिए ।चिया बगान नजिक दाउरा खोजिरहेकी स्कुले छात्रामाथि एकान्तको फाइदा उठाउँदै खनिएका राजवंशीले त्यो भन्दाअघि पनि उनकै घरमा गएर बलात्कार प्रयास गरेको खुलेको थियो । त्यो घटना सार्वजनिक हुन नपाउँदै सावित्राको ज्यान गयो । आदिवासी समुदायभित्रको सो घटनाको विरोधमा कहीँकतै प्रदर्शन भएन । महिला अधिकारकर्मीले घटनाको निन्दा त के मुखसम्म पनि खोलेनन् । उल्टै कारवाहीको दायरालाई खुकुलो बनाउन प्रहरीलाई राजनीतिक दवाव आयो । त्यसलाई झापा प्रहरीले टेरेन । अन्तत पीडक अहिले पुर्पक्षका लागि थुनामा छन् ।
‘बलात्कार र महिला हिंसाका यस्ता थुप्रै घटना थिए, जुन सञ्चारमाध्यमका प्राथमिकतामै परेनन’्, अधिकारकर्मी अर्जुन बस्नेतले भने, ‘बलात्कारपछि ज्यानै लिएका घटनामा राजनीतिक दल र तिनका भ्रातृसंगठनले कारवाही हुनबाट रोक्दा दण्डहीनता मौलाउनु स्वभाविक हो ।’ महिला हिंसा र बलात्कारका घटनामा संलग्नलाई कानुनी कारवाहीबाट उन्मुक्ति दिन राजनीतिक दवाव आउने गरेकाले पनि दोषीमाथिको कारवाही प्रभावकारी हुन नसकेको बस्नेतको ठम्याई छ ।
‘हिंसाविरुद्ध प्रतिकारमा उत्रिएका महिलालाई सहानुभूति दिन पनि समाजले कन्जुस्यार्इँ गरिरहेको छ’, बस्नेतले भने, ‘यसबाट उल्दै उनीहरुको मनोवल कमजोर हुन्छ ।’ झापा महारानीझोडा–५ की कल्पना विक यस्ती उदाहारण हुन्, जसले २७ असोज २०६९ को राति आफूलाई बलात्कार गर्न आएका स्थानीय भीमप्रसाद अधिकारीको प्रतिकार गरिन् । प्रतिकारमा अधिकारीले ज्यान गुमाए । विक आफँैले प्रहरीसमक्ष आत्मसमर्पण गरिन् । थियो ।
१३ वैशाख २०६९ मा पनि झापा हल्दीवारी–२ का दुई महिला सामूहिक बलात्कारको शिकार भए । डाँगीवारी–१ का आधादर्जन युवाले स्थानीय खोला किनारमा उनीहरुको अस्मिता लुटे । घटनामा संलग्न भएकामध्ये सुरेश महली, रमेश महली, मंगलसिंह बेस्रा र सोनाराम मुर्मु, अर्जुन मुर्मु, सुनिल मुर्मुलाई प्रहरीले पक्राउ गर्यो । घटनाका अन्य दुई आरोपी भैरव मुर्मु र भरत मुर्मु अझै फरार छन् ।
महिला तथा बालबालिकामाथि हुने गरेको हिंसामा बलात्कारको अवस्था डरलाग्दो छ । ०६७ पुस यताको दुई वर्षमा झापामा बलात्कारका २९ घटना भएका छन् । त्यसमा बलात्कृत हुने बालिकाको संख्या मात्रै १६ छ । बलात्कारपछि एक जना बालिकाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । ०६८ पुसयता मात्रै बलात्कारका ११ घटना भएका छन् । त्यसमा बलात्कृत बालिका चार जना छन् । सुस्तमनस्थितिका दुई बालिका पनि बलात्कारको शिकार भएका छन् । हाडनाता करणीका घटना पछिल्लो समय बढ्दै गएको इन्सेकको तथ्याङ्क छ । ५ कात्तिक २०६९ मा झापा गरामनी–२ की ११ वर्षीया सुस्तमनस्थिति भएकी बालिका बलात्कारको शिकार भइन् । इलाम घर भई सोही ठाउँमा डेरा बस्ने भवानीकुमार राईले ती बालिकालाई बलात्कार गरे । २८ जेठ २०६९ मा झापा चकचकी–२ की १२ वर्षीया बालिकालाई सोही ठाउँका भीम राजवंशी घरमै गएर बलात्कार गरे ।
‘यतिसम्म कि बृद्ध उमेरका महिलाले पनि आफ्नै नातेदारबाट बलात्कारको पीडा सहनुपरेको छ’, इन्सेकका जिल्ला कार्यक्रम संयोजक लक्ष्मी निरौलाले भने, ‘मानिस कतिसम्म घृणित बन्नसक्छ भन्ने उदाहारण अन्यत्र खोजिरहनु पर्दैन ।’ झापा अनारमनी–४ की ७६ बर्षीया वृद्धालाई उनकै ३५ वर्षीय ज्वाईँ दुर्गा सिवाकोटीले २१ माघ ०६८ को राति गरेको बलात्कार यसको उदाहारण हो । सिवाकोटी हाल पुर्पक्षका लागि थुनामा छन् । वृद्धा अवस्थाका महिला बलात्कार भएको घटना झापामा नया“ हो ।
एक वर्षमा आठ मारिए
आवेग थेग्न नसक्ने सामान्य मानवीय कमजोरीले हिंसाका घटना बढ्दै गएको पाइएको छ । ०६८ पुस यता एक वर्षको अवधिमा चार महिला र चार बालबालिकाले अनाहकमा ज्यान गुमाएका छन् । ‘झापामा सामान्य विषयमा ज्यान गुमाउनु पर्ने डरलाग्दो स्थिति देखिएको छ’, अधिकारकर्मी अर्जुन बस्नेतले भने, ‘प्रत्येकवर्ष यस्ता घटना दोहोरिरहेका छन् ।’ झापाको जलथल–४ मा बाबुले श्रीमती र दुई छोराछोरीको ‘निर्ममतापूर्वक’ हत्या गरेको घटनालाई यसको पछिल्लो उदाहरणका रुपमा लिन सकिने बस्नेतले बताए ।
घर फर्कन नमानेकै कारण भारत मणिपुर घर भएका शोभा थोकचोकले १३ असार २०६९ मा २५ वर्षीया श्रीमती रेविका, चार वर्षीय छोरा अरुण र तीन महिने छोरी सुनिताको ज्यान लिएका थिए । अघिल्लो वर्ष झापाको ज्यामिरगढीमा पनि सामान्य भनाभनमा बाबुले श्रीमती र दुई छोराछोरीको हत्या गरेका थिए । पारिवारिक अंश विवादमा न्यायको पर्खाइमा रहेकी झापा पा“चगाछी–७ की हेमकुमारी श्रेष्ठको हत्या पनि सामान्य विवादमा भएको थियो ।
कानुन प्रदत्त अंशको अधिकारका लागि सङ्घर्ष गर्दा गर्दै १४ असार २०६९ मा देवर राजकुमार श्रेष्ठले कोदालोले टाउकोमा हानेर हेमकुमारीको हत्या गरेका थिए । शरणामती–५ की सञ्चलक्ष्मी लिम्वूले पनि श्रीमान्को आक्रमणमा १५ कात्तिक २०६९ मा ज्यान गुमाइन् । श्रीमान् सुखराज लिम्वूले खुकुरीले काटेर उनको हत्या गरे । १ पुस २०६९ मा श्रीमान्ले रक्सी खान मागेको पैसा नदिँदा सतासीधाम–१ डुँडामारीकी सुकलक्ष्मी नेपालीले संसारबाट बिदा लिनु पर्यो । श्रीमान् मानवहादुरले बञ्चरोले हानेर उनको हत्या गरे । घटनापछि श्रीमतीको साथमा भएको पैसा लिएर उनी फरार छन् ।

No comments:
Post a Comment