सुब्रत न्यौपाने झापा १ माघ
झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको जग्गा जोताहाले कब्जा गरेका छन् । ठेक्का तिर्नुपर्ने पूर्वसर्तविपरीत जोताहाले क्याम्पसको जग्गा कब्जामा लिएका हुन् ।झापा शरणामती–५ मा रहेको क्याम्पसको १२० विघा जग्गा लामो समयदेखि स्थानीय जोताहाको कब्जामा छ । जोताहाले डेढदशकदेखि ठेक्का नबुझाएको मेची क्याम्पसका प्रमुख उमानाथ ओलीले बताए । ‘जोताहाले जग्गा छोड्न पनि मानेका छैनन्’, उनले भने, ‘नत क्याम्पसलाई ठेक्काबापतको धान नै प्राप्त भएको छ ।’
२०५४ सालदेखि क्याम्पसले ठेक्का उठाउन सकेको छैन । जमिन्दार देवीप्रसाद उप्रेतीले क्याम्पसलाई निशुल्करुपमा उपलब्ध गराएको सो जग्गा एकसय ६१ जना जोताहाको कब्जामा छ । क्याम्पसले प्रतिविघा आठ मन धान लिने शर्तमा जग्गा ठेक्का दिएको थियो । तर हाल जोताहाले प्रतिविघा ६० मन धान उत्पादन गरिरहेका छन् ।
प्रत्येक वर्ष ठेक्का बुझाउन पत्राचार गरिए पनि उनीहरुले अटेर गर्दै आएको क्याम्पस प्रमुख ओलीले बताए । ‘कर्मचारी पठाउ“दा पनि उल्टै धम्क्याएर पठाउ“छन्’ उनले भने, ‘चाहनेले पनि ठेक्काबापतको बाली तिर्न पाएका छैनन् ।’ जोताहाले संघर्ष समिति गठन गरेर ठेक्का नबुझाउन उर्दी गरेपछि तिर्न खोज्नेहरु पनि निरुत्साहित भएको ओलीले बताए । जोताहामध्येका सात जनाले ठेक्का नबुझाउने निर्णय गर्दै बुझाउन चाहनेलाई घरमा आगो लगाइदिने धम्की दिने गरेका छन् ।
१२० विघामध्ये ११ विघा जग्गाको मात्र एक हजार मन धान क्याम्पसले ठेक्का पाउन बा“की छ । १०९ विघा जग्गाबापत क्याम्पसले पाउने ठेक्काको कुनै हिसाव छैन । झापाका सबै राजनीतिक दलले यसअघि नै स्थानीय इकाईलाई पत्राचार गरी क्याम्पसलाई ठेक्का बुझाउन सहयोग गर्नु भनी निर्देशन दिए पनि ठेक्का उठ्न सकेको छैन । राजनीतिक दलले गरेको पत्राचारलाई समेत बेवास्ता गरेपछि जग्गा खाली गर्न स्थानीय प्रशासनले पहल थालेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले क्याम्पसको जग्गा खाली गराउन सरोकारवालास“ग छलफल भइरहेको बताए । ‘क्याम्पसको जग्गा खाली गर्न राजनीतिक दलको समेत सहमति छ’, उनले भने, ‘अव जोताहास“ग जग्गा छोड्नुको विकल्प छैन ।’

No comments:
Post a Comment