Thursday, January 24, 2013

डकैतीका अभियुक्त हतियारसहित पक्राउ



झापा १० माघ
  श्रृङखलावद्ध अपराधका घटनामा संलग्न तीन अभियुक्तलाई झापा प्रहरीले हतियारसहित पक्राउ गरेको छ । डकैती तथा लुटपाटका घटनामा संलग्न भएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
  पक्राउ पर्नेमा झापा खुदुनावारी–१ का नरेन्द्र फूँयल, पाकु चौधरी र गुल्मीका तेजेन्द्र रायमाझी रहेका छन् । उनीहरुलाई दुई थान अमेरिकन पेस्तोल र १४ राउण्ड गोलीसहित बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापाका प्रहरी प्रमुख एसपी शेरबहादुर बस्नेतले दुई महिना लामो प्रहरी अनुसन्धानपछि उनीहरु समातिएको बताए ।
  ‘दिनदहाडै हतियार देखाएर लुटपाट हुन थालेपछि सुरक्षास्थितिमाथि नै प्रश्न उठेको थियो’, बस्नेतले भने, ‘अव त्यस्तो अवस्था छैन्, अभियुक्त सबै प्रहरी फन्दामा छन् ।’ यसअघि पक्राउ परेका अन्य दुई अभियुक्तको बयानका आधारमा उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको एसपी बस्नेतले जानकारी दिए । यसअघि प्रहरीले झापा खुदुनावारीका रोशन कार्की र कमलबहादुर न्यौपानेलाई पक्राउ गरेको थियो ।
   झापामा भएका तीनवटा लुटपाटका घटनामा संलग्नता पुष्टि भएपछि १५ दिनअघि कार्की र न्यौपाने समातिएका थिए । उनीहरुको समूहले १६ असोजमा झापाको दमकबाट विर्तामोड फर्कदै गर्दा सञ्जय शारदा कन्र्सनका लेखापाल विश्वजित राजवंशीको साथमा रहेको १० लाख २४ हजार रुपैयाँ लुटेर लगेको थियो । राजवंशीको कञ्चटमा पेस्तोल ताकेर उनीहरुले सो पैसा लुटेको प्रहरीले जनाएको छ । २ पुसमा उनीहरुको समूहले झापाको विर्तामोडमा रहेको इलेक्ट्रीकल ट्रेड सेन्टर नामको आइएमईबाट एक लाख ३३ हजार रुपैयाँ लुटेको थियो ।
  ग्राहकको रुपमा प्रवेश गरेका उनीहरुले आइएमईमा कार्यरत कर्मचारी आशा प्रधानको कञ्चटमा पेस्तोल ताकेर सो रकम लुटेका थिए । पैसा झिक्न आएकी झापा गरामनीकी पूर्णमाया राईको पनि एक तोलाको सुनको सिक्री लुटिएको थियो । आइएमई लुटपाटका बेला झापा आएको खुलेपछि प्रहरीले गुल्मी घर भएका रायमाझीलाई पक्राउ गरेको हो । लुटेराले रायमाझीकै मोवाइल प्रयोग गर्ने गरेको पनि खुलेको छ । यसअघि २६ मंसिरमा कार्की र न्यौपानेकै योजनामा झापा चारआलीको मेट्रो पेट्रोल पम्पमा लुटपाट भएको थियो ।
  पेट्रोल पम्पका कर्मचारी नरेश बास्तोलालाई नियन्त्रणमा लिएर दुई राउण्ड फायर गरेपछि उनीहरुले पम्पबाट ३० हजार रुपैयाँ र मोवाइल लुटेर लगेका थिए । पक्राउ परेकामध्ये चौधरी पूर्व सैनिक हुन् । बहालवाला अवस्थामा लुटपाट तथा अन्य आपराधिक घटनामा संलग्न भएको पाइएपछि उनी कारवाहीमा परेका थिए । कारवाही भोगेर निस्किएलगत्तै उनी पुन लुटपाटमा सक्रिय भएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तयले वैदेशिक रोजगारीमा जानका लागि लुटपाट गर्नु परेको बयान दिएका छन् ।


No comments:

Post a Comment